राष्ट्र बैंकको विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन
सार्क मुलुकमध्ये भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । सर्वेक्षण नतिजाअनुसार नेपालमा सबै वाणिज्य बैंक फरवार्ड मार्केट सङ्लग्न रहेको र आधाजसो बैंक स्वाप कारोबारमा सङ्लग्न रहेको पाइएको छ । बैंकले ८१ उत्तरदाता गैरवित्तीय फर्म (११५ फर्मलाई प्रश्नावली सोधिएको) मध्ये १४.८ प्रतिशतले मात्र डेरिभेटिभ प्रोडक्टको प्रयोग गरेको देखिन्छ । जसमध्ये अधिकांश स्टिल तथा धातु उत्पादक फर्म रहेका छन् । दैनिक कारोबारमा विदेशी विनिमय जोखिम नरहेको भन्ने फर्महरू ३७ प्रतिशत रहेको र विदेशी विनिमय जोखिम रहेको भन्ने बाँकी फर्ममध्ये ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्टसम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा हेर्दा नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको अध्ययनबाट देखिएको छ । विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने अवस्था छ । हालको ओटिसी मार्केटलाई अझ सशक्त बनाउँदै हेजिङलाई सहजता प्रदान गर्न र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न दीर्घकालीनरुपमा प्रवद्र्धन गर्नुपर्ने देखिएको अध्ययनमा उल्लेख छ ।