माघ २०, २०८२
सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

सभागृहमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

काठमाडौं – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन्। केन्द्रीय समितिमा दबाब बढाउन उनीहरू राष्ट्रिय सभागृहमा भेला हुँदै छन्।

भोलि बस्ने केन्द्रीय समिति बैठकलाई लक्षित गर्दै गरिएको यो भेलामा विभिन्न प्रदेश र जिल्लाबाट महाधिवेशन प्रतिनिधि, नेताकार्यकर्ताहरू सहभागी छन्।

विशेष महाधिवेशन पक्षधरका नेता गुरुराज घिमिरेले पार्टी निकासका लागि अब विशेष महाधिवेशनबाहेक विकल्प नरहेको दाबी गरे।
उनले भने, “पार्टीलाई दिगो निकास दिन विशेष महाधिवेशन आवश्यक छ, त्यसैले हामीले केन्द्रीय समितिलाई दबाब दिन यो भेला आयोजना गरेका हौं।”

केन्द्रीय समितिमा निर्णय टर्दै

कांग्रेसभित्र प्रतिनिधि सभाको चुनावपछि महाधिवेशन गर्ने कि त्यसअघि भन्ने विषयमा तीव्र मतभेद छ। यसै विषयमा असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले अझै स्पष्ट निर्णय लिन नसकेको विशेष महाधिवेशन पक्षधरहरूको आरोप छ।

विशेष महाधिवेशन माग गर्ने नेताहरूले असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिसकेका छन्। विधानअनुसार पुस २९ भित्र विशेष महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहे पनि संस्थापन पक्षले प्रक्रिया टार्न खोजेको आरोप उनीहरूको छ।

‘विधानमै भए पनि टार्ने प्रयास’

विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूले पार्टी विधानमै व्यवस्था भए पनि संस्थापन पक्षले समयमै प्रक्रिया अघि नबढाएको भन्दै असन्तोष पोखिरहेका छन्।

भेलामा बोल्ने नेताहरूले केन्द्रीय समितिले चाँडो निर्णय नगरे पार्टीभित्रको असन्तुष्टि अझ चर्किने चेतावनी दिएका छन्।

राष्ट्रिय सभागृहमा जारी भेला साँझसम्म चल्ने बताइएको छ। भोलिको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मागबारे कस्तो निर्णय गर्छ, त्यसतर्फ कांग्रेसभित्रका सबै पक्षको ध्यान केन्द्रित भएको छ।