पुस ९, २०८१
सवारी आवागमनमा  असर पार्ने गरी विज्ञापन गर्न नपाईने विज्ञापन बोर्डको  आग्रह

सवारी आवागमनमा असर पार्ने गरी विज्ञापन गर्न नपाईने विज्ञापन बोर्डको आग्रह

विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख गरिएको छ |

आगामी दिनमा  सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ।विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख भएको छ ।

विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैंगिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरण पालना गर्नुपर्ने उल्लेख छ|

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झूटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ।

मानव अंग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ। विभिन्न रङ र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसंहितामा उल्लेख छ।

खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिवर्द्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख गरिएको छ । 

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु पर्ने रहेको छ ।