ब्याजदर यथावत रहने
नेपाल बैंकर्स सँघले मंसिरमा ब्याजदर नबढाउने निर्णय गरेको छ।
आज बसेको नेपाल बैंकर्स सँघको बैठकले कार्तिकको ब्याजदरलाई मंसिरमा यथावत राख्ने निर्णय गरेको हो।
असोजमा मुद्दती निक्षेपमा बढाएर व्यक्तिगत तर्फ १२.१३% र संस्थागत तर्फ १०.१३% पुगेको ब्याजदर त्यसयता स्थिर रहेको छ।
नेपाल रष्ट्र बैंकको निर्देशन अनुसार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजद र निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्नसक्ने व्यवस्था रहेको छ।
यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर व्यवस्थाको सीमाभन्दा बढी हुनगएमा अधिकतम वा न्यूनतम मध्ये एकदर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्नेछ।
त्यसैगरी, औसत ब्याजदर अन्तर “क” वर्गका वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र “ख” र “ग” वर्गका संस्थाको हकमा ५ प्रतिशत भन्दाबढी नहुने व्यवस्था रहेको छ।