पुस ८, २०८१
कोरोना बीमाको दाबी भुक्तानी आजदेखि : २५ हजारमध्ये पहिलो चरणमा १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने

कोरोना बीमाको दाबी भुक्तानी आजदेखि : २५ हजारमध्ये पहिलो चरणमा १८ हजार ६० वटा पोलिसीको भुक्तानी गरिने

निर्जीवन बीमा कम्पनीहरूले आजदेखि कोरोना बीमाको दाबी रकम भुक्तानी गर्ने भएका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार बीमा कम्पनीहरूले आजदेखि भुक्तानी दिने भएका हुन् ।

बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा एक अर्ब एक करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्छ ।

यो रकमबाट १८ हजार ६० वटा बीमा पोलिसीको मात्रै दाबी गर्न सकिने सङ्घको भनाइ छ । कम्पनीहरूले रकम थप गर्न नमानेपछि सरकारले रकम निकासा गरेको एक महिना बितिसक्दा पनि कोरोना दाबी रकम भुक्तानीमा ढिलाइ भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले रकम थप नगर्ने बीमा प्राधिकरणलाई जवाफ दिएको छ ।

सरकारले दिएको एक अर्ब रुपैयाँ र आफ्नो ८ प्रतिशत दायित्वबापत १४ करोड ५४ लाख रुपैयाँ गरी कुल १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ यसअघि नै बीमा प्राधिकरणले सङ्घलाई दिइसकेको छ ।

सरकारले पैसा नदिएको भन्दै बीमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बीमाको भुक्तानी रोकेका थिए ।