माघ २०, २०८२
सूचना वाहक कटुवाल, गाउँपालिकाले दिन्छ मासिक तलब

सूचना वाहक कटुवाल, गाउँपालिकाले दिन्छ मासिक तलब

‘हाम्रो वडामा हुने जस्तोसुकै कार्यक्रम, बैठक, भेला, सभा,सम्मेलन तथा जनचेतनामुलक सन्देश सबै कटुवाल दाईले नै सुनाउने गर्नुहुन्छ । कटुवाल कराएपछि मात्रै गाउँलेहरु कार्यक्रममा आउने गर्छन्,’ वडाध्यक्ष धनकुमार घले भन्छन् । 

इतिहास हेर्दा परापूर्वकालदेखि नै ‘कटुवाल’को मार्फतबाट सूचना आदान-प्रदान गर्ने गरिन्थ्यो । पछिल्लो समय काशी गाउँमा आधुनिक आमसञ्चारका माध्यमको पहुँच पुगिसक्यो । त्यहाँ अधिकांशले टेलिफोन, टेलिभिजन, रेडियोको प्रयोग गर्ने गर्छन् । तर, वडा, गाउँघर, टोलहरुमा हुने कार्यक्रम गतिविधिको सूचनाका लागि भने त्यहाँका स्थानीयहरु कटुवालकै भर पर्छन् । 

वडाध्यक्ष घले भन्छन्, ‘यहाँ हुने कार्यक्रमको बारे कटुवाल नकराएसम्म वडाका कसैले विश्वास नै गर्दैनन् । वडाको सूचनाका लागि जतिसुकै प्राविधिक युग भए पनि अहिलेसम्म कटुवालकै भर छ ।’ सार्की घलेलाई अहिले गाउँका सबैले ‘कटुवाल’ भनेर बोलाउने गर्छन् । समय फेरिएसँगै कटुवालहरुले लिने सेवा सुविधा परिवर्तन हुँदैछ । 

कटुवाल घलेले सुनाउँछन्, ‘हामी सानै हुँदादेखि कटुवाल लगाउने चलन थियो । त्यो भन्दाअघि जुगौंदेखिको चलन हो । हामीले थाहा पाउँदादेखि करिब ५ बर्षअघिसम्म कटुवालहरुलाई मासिक धान, मकै, कोदोजस्ता अन्नहरु दिने चलन थियो ।’

२०७२ मंसिरबाट कटुवाल बनेका उनले दुई-तीन बर्षदेखि गाउँपालिकाबाट कटुवाल कराए बापत सेवा-सुविधा पनि पाउँछन् । कटुवाल घले भन्छन्, ‘सुरुमा कटुवाल भएपछि गाउँलेहरु सबैले प्रत्येक घरबाट मासिक एक सय रुपैयाँका दरले पैसा उठाएर दिन्थे । दुई बर्ष भयो पालिकाले मासिक १५ सयका दरले दिन्छ ।’

आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबाट परम्परागत रुपमा गाउँबाट अन्न बटुल्ने कटुवाललाई गाउँपालिकाले मासिक १५ सय रुपैयाँ तलबको ब्यवस्था गरेको छ । घलेजस्तै गाउँपालिका भित्रका लाप्राक, लापु, उहिया, काशीगाउँ, केरौंजा, गुम्दालगायतका गाउँमा अहिले कटुवालहरु छन् । उनीहरु सबैले गाउँपालिकाबाट मासिक तलब लिने गरेका छन् । 

”अहिले गाउँका घरघरमा रेडियो टिभी छ । नयाँ पुस्ताले मोबाइलमा इन्टरनेट बाटै देशविदेशका कुराहरु हेर्न, सुन्न देख्न सक्छन् । तर, बुढापाका पुस्ताले नेपाली भाषा बुझ्दैनन् । कटुवाल कराउँदा उनीहरुलाई पनि सहज हुने भयो । हामीले प्रोत्साहन गर्नका लागि मासिक तलब दिने ब्यवस्था गरेका हौं,” गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ भन्छन् ।