कानुन व्यवसायी लाई झुक्याएर - अदालत छिरे चोलेन्द्र
मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायी लाई झुक्याएर सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् । ११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका जबरा महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीहरुको धर्ना छल्दै अदालत छिरेका हुन् ।
मुल गेटमा नेपाल बारले धर्ना दिएपछि जबरा प्रधानन्याधीशको शपथ ग्रहणपछि पदभार ग्रहण गर्न सर्वोच्च आउँदा प्रयोग गर्ने गरेको गेटवाट प्रवेश गरेका हुन् ।महान्यायाधधिवक्ता कार्यालय नजिकै रहेको सो गेट नयाँ प्रधानन्यायाधीशलाई स्वागत गर्दा मात्र सर्वोच्च प्रशासनले खोल्ने गरेको छ ।
यसअघि उनले बालुवाटारस्थित आफ्नो निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका थिए। जबराले निवासबाटै आठवटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका आठवटा संयुक्त इजलास गठन गरेका छन् ।
जसमा दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्कीर विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र सुस्मलता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदी तथा तेज बहादुर केसी र कुमार रेग्मीका संयूक्त इजलास इजलास छन् ।
यसैबीच न्यायालयमा चर्किएको आन्दोलनले सेवाग्राहीसमेत मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले समेत अदालतको समस्याबारे चासो दिन थालेका छन् । यही क्रममा बिहीबार र शुक्रबार सिंहदरबार र बालुवाटारमा अदालतको संकटबारे सरकारी अधिकारीहरुले छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी छ ।