सरकारले "भिसा" खुला गरेपनि चलायमान हुन सकेन पर्यटन व्यवसाय
मंसिर–सन् २०२१ को अक्टोबरसम्म एक लाख एक सय ४८ पर्यटक नेपाल भित्रिएका छन् । जुन विगतका वर्षहरुको तुलनामा कम हो ।
कोरोना महामारी र लकडाउनका कारण घुम्न आउने पर्यटकको संख्यामा कमी आएको व्यवसायीहरुको भनाइ छ । सरकारले गत असोज ७ गतेबाट विदेशीलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको थियो ।सरकारको यो निर्णयसँगै करिब दुई वर्षदेखि थलिएको पर्यटन व्यवसायी क्षेत्रमा केही सुधार देखिने आश गरिएको थियो । तर, सोचे अनुरुपको पर्यटक नेपाल आउन सकेका छैनन् । भिसा खुलेको डढे महिना भइसक्दा पनि नेपाल भित्रिने पर्यटकको संख्या भने बढ्न सकेको छैन ।
पर्यटन व्यवसायी शिशिर बन्जाराले सरकारले भिसा खुला गरेसँगै पर्यटन क्षेत्र केही चलायमान भएको बताए । भिसा खुला गरेसँगै पर्यटन क्षेत्र केही चलायमान भएको भएपनि सन् २०१९ को तुलनामा दैनिक नेपाल भित्रिने पर्यटकको संख्यामा भने कमी आएको उनको भनाइ छ ।
उनले सन् २०१९ को तुलनामा पाँचदेखि दश प्रतिशत मात्र पर्यटक नेपाल आएको बताए । सन् २०१९ मा दैनिक एक हजारका दरले पर्यटक नेपाल आउने बताउँदै उनले भने, “अहिले दैनिक ५० देखि सय पर्यटक मात्र आउँछन् ।”
सरकारले भिसा खुला गरेपनि नेपाल आउन चाहाने पर्यटकलाई अझै सहज भने नभएको उनको भनाइ छ । सरकारले नेपाल आउँदा जाँदा नै पीसीआर परीक्षण अनिवार्य गरेको छ । खोप लगाएकाले पनि पीसीआर गर्नुपर्छ । पीसीआर परीक्षण गर्दा पोजेटिभ देखियो भन्ने गाह्रो हुने हुँदा भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएको उनले बताए । विश्वमा सबैले कोरोना भाइरसविरुद्धको खोप लगाई नसकेकाले पनि घुम्न आउने पर्यटकको संख्यामा कम आएको उनको अनुमान छ ।
यस्तै, अर्का पर्यटन व्यवसायी राजु पौडेलले भिसा खुला गरेसँगै पर्यटन व्यवसाय केही चलायमान भएको बताए । तर, डाइरेक्ट फाइट नआएकाले पर्यटक संख्यामा भने कमी आएको उनले जानकारी दिए । नेपालमा अहिले कतार एयरवेजबाट ट्रान्जिट भएर आउने पर्यटक मात्र आइरहेको बताउँदै उनले भने,“धेरै देशहरुले हवाई उडान खुलाएका छैन । अहिले हवाई मार्फत आउने धेरै जसो नेपाली नै हुन् उनका अनुसार डाइरेक्ट फाइट नियमित उडानमा आएपछि मात्र पर्यटकको संख्यामा बृद्धि हुनेछ । नेपाल सरकारले पर्यटकका लागि सबै क्षेत्र खुला गरेपनि विदेशमा अझै हवाई उडान र सीमा नाका नखुलेकाले नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको उनको भनाई छ ।
कुन महिना कति आए त पर्यटक ?
अध्यागम विभागका अनुसार गत महिना (अक्टोबर) मा मात्र २३ हजार दुई सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या लकडाउन यताकै धेरै हो ।
सन् २०२० को जनवरीमा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार नौ सय ४६, मार्चमा १४ हजार नौ सय ७७, अप्रिलमा २२ हजार चार सय ५०, मे मा एक हजार ४ सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१ पर्यटक नेपाल भित्रिएका थिए ।
त्यसैगरी, अगष्टमा पाँच हजार नौ सय १७ र सेप्टेम्बरमा नौ हजार आठ सय ९८ पर्यटक नेपाल भित्रिएका थिए ।
यसैगरी, अक्टोबर महिनामा हवाई मार्फत २३ हजार २८४ पर्यटक नेपाल आएको विभागलको तथ्यांकले देखाउँछ । यो लकडाउन यता कै धेरै हो ।