पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पास
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित भएको छ । यो विधेयक पारित भएसँगै अब त्यहाँ कोही पनि बलात्कारमा दोषी पाइएमा नपुंसक बनाइनेछ ।
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक पारित भएको छ । यो विधेयक पारित भएसँगै अब त्यहाँ कोही पनि बलात्कारमा दोषी पाइएमा नपुंसक बनाइनेछ ।
पाकिस्तानमा पछिल्ला केही वर्षमा बलात्कारका बढ्दो घटनालाई लिएर आम मानिसमा जनआक्रोश देखिएपछि सरकारले कडा कानुन ल्याउने निर्णय गरेको थियो ।
पाकिस्तानले गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने सम्बन्धी अध्यादेश ल्याएको थियो । एक वर्षपछि यस्तै प्रावधान समेटेर विधेयक पेश गरेको थियो । जसलाई संसदको संयुक्त बैठकले पारित गरेको हो ।
विधेयकमा भनिएको छ, ‘केमिकल क्यास्ट्रेशन (रासायनिक नपुंसीकरण) एक प्रक्रिया हो । जसमा प्रधानमन्त्रीले बनाएको नियमअनुसार स्वीकृत गरिएको छ । जसमा एक व्यक्तिलाई आजीवन यौन सम्बन्ध राख्न असक्षम बनाइनेछ । यसका लागि अदालतले औषधि प्रयोग गर्न आदेश दिनेछ । यसलाई मेडिकल बोर्डले स्वीकृत गर्नेछ ।’
कट्टर इस्लामिक समूहहरुले भने बलात्कारीलाई नपुंसक बनाउने कानुनको विरोध गरेका छन् ।
जमात–ए–इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले विधेयकलाई इस्लाम विरोधी र शरिया विरोधी भएको बताएका छन् । उनले बलत्कारीलाई सिधै फाँसी दिनुपर्ने बताए । तर शरियामा नपुंसक बनाउनेबारे कुनै व्यवस्था नभएको उनको भनाई छ ।
रासायनिक नपुंसीकरण
रासायनिक नपुंसीकरण एक प्रक्रिया हो । जसमा औषधि दिएर कुनै व्यक्तिलाई यौन सम्बन्ध राख्न नसक्ने बनाइन्छ । यो औषधिले शरीरमा टेस्टोस्टेरोन हर्मोनलाई कम बनाउँछ ।
संसारका केही देशमा रासायनिक नपुंसीकरणको व्यवस्था छ । सन् २०१६ मा इन्डोनेसियाले बच्चालाई यौन अपराध गर्नेलाई रासायनिक नपुंसीकरण गर्ने प्रावधान ल्याएको थियो ।
सन् २००९ मा पोल्याण्डले पनि बच्चामाथि बलात्कार गर्नेलाई नपुंसक बनाउने व्यवस्था लागू भएको थियो । दक्षिण कोरिया र चेक गणतन्त्रका साथै अमेरिकाका केही राज्यमा पनि यस्तो कानुन छ । पाकिस्तानमा पछिल्ला केही वर्षयता यौन हिंसाका घटना बढेपछि कडा कानुन ल्याउन माग हुँदै आएको थियो । आलोचकहरु भने पाकिस्तानमा यौन हिंसाका मामिलामा ४ प्रतिशत भन्दा कम दोषी पाइन्छन् ।
लाहोरको घटनापछि बन्यो कानुन
पाकिस्तानमा गत वर्ष राष्ट्रपतिले अध्यादेशबाट बलात्कारका घटनाविरूद्ध नयाँ कानुन ल्याएका थिए । लाहोरमा भएको सामूहिक बलात्कारको घटनापछि आम मानिसमा तीव्र असन्तोष प्रकट भएको थियो ।
गत वर्षको ८ सेप्टेम्बरमा बाटोमा रोकिएकी एक महिलामाथि दुई जनाले जबरजस्ती बलात्कार गरेका थिए । पाकिस्तानी मूलकी फ्रेन्च महिला आफ्नो बच्चासँगै लाहोर आउँदै गर्दा कार बिग्रिएर बाटोमा अड्किएकी थिइन् ।
सहयोगका लागि सडक किनारमा बसेकी ती महिलामाथि दुई व्यक्तिले लुटपाट गर्नुका साथै बच्चाकै अघि जबरजस्ती गरेका थिए । यो घटनापछि आम मानिसमा ठूलो आक्रोश पैदा भएको थियो । लाहोर प्रहरीका एक अधिकारीले महिला पनि सामूहिक बलात्कार हुनुमा एक हदसम्म जिम्मेवार रहेको बताएपछि त्यसले झनै हंगामा मच्चाएको थियो ।
उनले टेलिभिजन अन्तर्वार्तामा पनि सो कुरा दोहोर्याए । उनले महिलालाई फ्रान्स जस्तै पाकिस्तान पनि सुरक्षित लागेको हुनसक्ने भन्दै पाकिस्तानमा असुरक्षा रहेको कुरा प्रकट गरेका थिए । यसपछि पाकिस्तानभर विरोध प्रदर्शन भयो र सडकमा उत्रिएर आम मानिसले न्याय र महिलाको सुरक्षा सदृढ गर्नुपर्ने माग गरे ।
त्यसपछि सरकारले कडा कदम चाल्ने बाचा गर्यो । गत वर्षको डिसेम्बरमा पाकिस्तानमा अध्यादेश ल्याएर बलात्कार कानुन बनाइयो । जसमा घटनाको तत्काल सुनुवाइ र कडा सजायको व्यवस्था थियो ।
लाहोर बलात्कारका आरोपीलाई प्रहरीले एक महिनाभित्र पक्राउ गरेको थियो । उनीहरुविरुद्ध तत्काल मुद्दा चलाएर गत मार्चमा दुवैलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । – बिबिसी