चैत्र ७, २०८२
सार्वजनिक पदमा भएका व्यक्तिलाई - दलको सदस्यता नदिन आयोगको निर्देशन

सार्वजनिक पदमा भएका व्यक्तिलाई - दलको सदस्यता नदिन आयोगको निर्देशन

निर्वाचन आयोगले विभिन्न दलहरुको भइरहेको महाधिवेशनमा सार्वजनिक पदमा बहाल भएका व्यक्तिहरुलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न निर्देशन दिएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका शिक्षक, कर्मचारी, प्राध्यापकहरू समेत दलका महाधिवेशनमा भाग लिई प्रतिनिधि समेत चयन भएको भनी सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै दलहरूलाई यस्तो निर्देशन दिएको हो ।

संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शिक्षक, कर्मचारी प्राध्यापकले राजनीतिमा भाग लिन नहुने व्यवस्था सम्बन्धित कानुनमा समेत उल्लेख छ । आयोगको निर्देशन विपरीत दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीहरूको विवरण आयोगबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक नहुने पनि आयोगले विज्ञप्तिमार्फत जनाएको छ राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकोतर्फ पनि आयोगले उल्लेख गर्दै राजनीतिक दलले पनि त्यस्तो सार्वजनिक पदमा बहाल रहेको व्यक्तिलाई दलको सदस्य बनाउन नमिल्ने प्रष्ट व्यवस्था रहेको जनाएको छ ।

आयोगले दलहरूको त्यस्ता समितिमा सार्वजनिक पदमा बहाल रहेका व्यक्ति समावेश भएको पाइएमा त्यस्ता व्यक्तिको नाम पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित दललाई लेखी पठाई आयोगलाई जानकारी दिन निर्देशन दिएको छ ।