पाइलटको ड्युटी सकिदा रूकुम उडेको जहाज नेपालगञ्जमा अवतरण
नेपाल एयरलाइन्सका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको पर्यटन मन्त्री प्रेम आलेले बताए। सोमबार पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर रूकुम नपुर्याई नेपालगञ्जमा अवतरण गराउनुभएको जानकारी आएको छ,’ आलेले भने, ‘यात्रुलाई गन्तव्यमा नपुर्याई अलपत्र पारेर उहाँले नेपालगञ्जमै छोडिदिनुभएछ।’
आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको आलेले बताए। यस्तो गैरजिम्मेवार काम किन गरेको भनेर छानबिन गर्न पनि भनिएको छ,’निगम मार्फत के करणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाँउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असयोग भयो भनेर चुप बस्ने मान्छे हैन् । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’
सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुमको चौरजहारी उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थियो जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन, “हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।” जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो। क्याप्टेन शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो। उनले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई त्यहीँ ओरालेका थिए। यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको थियो।
मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्याएको छ।
स्रोतका अनुसार सोमबार त्यो ट्वीनअटर साढे ६ बजे नै उड्ने तालिका थियो। तर, मौसमलगायत कारण समयमा उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए। उनलाई दिउँसो फेरि निगमले जहाज उडाउनुपर्ने भयो भनेर बोलाएको थियो।
‘एकपटक फर्काएर पुन: बोलाएर जहाज उडाउन लगाइएको थियो, उहाँले आफ्नो समय सकिएपछि नेपालगञ्जमा ओराल्नुभएछ, मंगलबार बिहान यात्रुलाई पुर्याइसकिएको छ,’ निगम स्रोतले भन्यो।