सुर्खेत विमानस्थल २५ दिन बन्द
नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले विमानस्थल २५ दिनसम्मका लागि बन्द हुने भएको छ। आज मंसिर १० गतेदेखि पुष ५ गतेसम्म धावनमार्ग मर्मतका लागि उडान तथा अवतरण बन्द गर्न लागिएको हो।
उक्त अवधिभर नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियरले जानकारी दिए । अहिले गरिने मर्मत नियमित मर्मत कार्यअन्तर्गत भएको प्राधिकरणले जनाएको छ। सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत प्रभावित हुने भएका छन्।
यस्तै काठमाडौंबाट सुर्खेतका लागि हुने सिँधा हवाई उडान पनि प्रभावित हुने भएको छ। यसका लागि बुद्ध एअरले नेपालगञ्जमा अतिरिक्त उडान गर्न लागेको छ। काठमाडौं–सुर्खेत बुद्ध एअरको एक मात्र जहाजले उडान भर्दै आएको छ। धावनमार्ग बन्द हुने भएपछि सुर्खेत आउने यात्रुहरुलाई लक्षित गरेर नेपालगञ्जमा उडान थप गर्न लागिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए ।
जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्ने नागरिक उड्डयन कार्यालयले जानयको छ।