माघ २१, २०८२
सकियाे मूल गणना; कालापानीको गणना अनुमानकै आधारमा

सकियाे मूल गणना; कालापानीको गणना अनुमानकै आधारमा

कालापानी र लिम्पियाधुराको जनगणना अनुमानकै आधारमा गरिने भएको छ ।

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गरिएको १२ औं राष्ट्रिय जनगणनाको मूल गणना हिजो सकिएको छ । मूल गणना सकिँदा पनि त्यहाँको गणना हुन सकेन् । मूल गणनामा त्यहाँका बासिन्दालाई समेट्न नसकेपछि अनुमानकै आधारमा गणना गर्न लागिएको हो ।

''वरिपरिको गाउँमा गएका गणकका आधारमा मोटामोटी कति घरपरिवार छन् भनेर अनुमान गरी तथ्यांक निकालिने''

दार्चुलाको विकट गाउँ छाङ्गरु र तिंकरमा भने गणकहरु गएर गणन गरेका छन् । छाङ्गरु र तिंकरमा तीन दिन हिँडेर गणकहरु जनगणनाका लागि गएका थिए । उनीहरुले त्यहाँको जनगणना गरी फर्किसकेका छन् । भारतीय सडक हुँदै सीतापुलसम्म गाडीमा गएर त्यहाँबाट २०–२५ मिनेट हिँडेर पुगिने छाङ्गरु जान भारतले पास नदिँदा गणकहरु तीन/चार दिन हिँडेर त्यहाँ पुगेको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थ राज चौलागाईंले बताए ।

कुटी, नाबी, गुन्जी लगायतका गाउँमा भने गणक गएका छैनन् । त्यहाँ सीभिल भन्दा पनि भारतीय आर्मी धेरै भएकाले गणनाका लागि जान जोखिम भएको उनको भनाइ छ । उनका अनुसार भारतले त्यहाँ तिब्बतलाई समेत निशानमा राखी आफ्ना आर्मीहरु परिचालन गरेकाले जोखिम छ । वरिपरिको गाउँमा गएका गणकका आधारमा मोटामोटी कति घरपरिवार छन् भनेर अनुमान गरी तथ्यांक निकालिने उनले बताए ।

तीन गणकको मृत्यु
१२ औं राष्ट्रिय जनगणनाको मूल गणनाको दौराना तीन जना गणकको मृत्यु भएको छ । सूचाना अधिकारी चौलागाईंले गणनाको दौरान तीन जना गणकको मृत्यु भएको बताए । उनका अनुसार रसुवा, कैलाली र धादिङमा एक/एक गणकको मृत्यु भएको छ । धादिङमा भीरबाट लडेर गणकको मृत्यु भएको छ भने कैलालीमा हर्ट अटट्याकका कारण गणकको मृत्यु भएको हो ।

रसुवामा एक जना गणकले आत्महत्या गरेको बताउँदै उनले भने,“ के कारणले आत्महत्या गरेको हो थाहा भएको छैन ।” चौलागाईंले केही गणकहरु घाइते समेत भएको बताए । उनले गणकहरुले बीमा गरेकाले औषधी उपचारको खर्च व्यर्होको जानकारी दिए ।

यी बाहेक त्यस्तो अप्रिय घटना नघटेको बताउँदै सहज रुपमा गणना सकिएको उनको भनाइ छ । देशभरी एकैचोटी सञ्चालन गरिएको गणना सहज रुपमा सकिएको उनले नारदमलाई जानकारी दिए ।

जनगणनामा छुटेकाले ११७८ मा फोन गरे गणक आउने
मूल जणनामा धेरै घरपरिवार नछुटेको बताउँदै उनले भने,“छुटपुट भएकाले सम्पर्क गरे वा जानकारी दिएमा गणकहरु घरमा आउनेछन् ।” मूल गणनामा छुटेका घरपरिवारले चार/पाँच दिन भित्र विभागमा सम्पर्क गर्ने वा जानकारी दिएमा गणक घरमा आउनेछन् । यसैगरी, टोल फ्रि नम्बर ११७८ मा फोन गरेमा पनि गणक पठाइने उनले बताए ।

केन्द्रीय तथ्यांक विभागले मूल गणनाका लागि ४० हजार गणकलाई फिल्डमा खटाएको थियो । गणकहरुले घरघरमा गएर प्रत्येक घरपरिवारलाई ८० वटा प्रश्न सोधेका थिए ।