मतदाता नामावली सङ्कलनको तयारी तीव्र
कार्यालयका अनुसार पहिलो चरणमा यही मङ्सिर १७ गतेदेखि अगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली सङ्कलन, त्रुटी सच्याउने, नामावली सार्ने लगायतका काम शुरु हुनेछ । दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिनुभयो । नामावली सङ्कलनमा कोही नछुटुन भन्ने उद्देश्यले प्रचारप्रसार तीव्र पारिएको छ । “फोटोसहितको मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रमका बारेमा जिल्ला र स्थानीय तहका सरोकारवालाहरुलाई जानकारी गराइसकेका छौं,” उहाँले भन्नुभयो, “यसलाई सफल पार्न जिल्लास्तरमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन र पालिकास्तरमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरी अभियानलाई तीव्रता दिइएको छ ।