श्रावण २६, २०८२
२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ । घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताउनुभयो । कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ ।