
कक्षा १२ को ग्रेडबृद्धि परीक्षा माघमा
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक तह कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरिसकेको छ ।
पनिकाले कुनै दुई विषयमा ग्रेडबृद्धि गर्न चाहाने विद्यार्थीहरुले ग्रेडबृद्धिको परीक्षा दिन पाउने जनाएको छ । पनिकाले ग्रेडबृद्धिका लागि आवेदन फारम खुलाएर परीक्षा मिति समेत तोकिसकेको छ । रजिष्ट्रेशन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका विद्यार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडबृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था पनिकाले गरेको छ ।
परीक्षामा सहभागी हुन चाहाने परीक्षार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आवेदन फारम भर्नुपर्ने छ । फारम भर्ने समय नियमित शुल्कमा पुसको १८ गतेसम्म र छुट भएकाहरुले बिलम्ब शुल्क सहित पुसको २२ गतेसम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने छ ।
त्यसैगरी, सम्बन्धित विद्यालयले विद्यार्थीहरुद्धारा भरिएको फारम २६ गतेसम्ममा बोर्डका कार्यलयहरुमा बुझाउनु पर्ने छ ।
ग्रेडबृद्धिको परीक्षा माघ २ र ३ गते सञ्चालन हुनेछ ।
गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी भएका थिए । सहभागी परीक्षार्थीमध्ये सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ जीपीए ल्याएका छन् । ४० हजार २३९ जनाले ‘ए’ जीपीए ल्याएको बोर्डले जनाएको छ ।
यस्तै, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ९९ हजार ५५३ जनाले ‘बी’ जीपीए ल्याएका छन् भने ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ । २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।
यसैगरी, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।