चैत्र ७, २०८२
स्काउटका तदर्थ समितिको शपथ ग्रहण, संयोजकमा दाहाल नियुक्त

स्काउटका तदर्थ समितिको शपथ ग्रहण, संयोजकमा दाहाल नियुक्त

युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख महेश्वरजङ्ग गहतराजले नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका नवनियुक्त संयोजक, सहसंयोजक तथा सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गहतराजले स्काउटका संयोजकसहितको १५ सदस्यीय टोलीलाई शपथ गराउनुभएको हो । तदर्थ समितिको संयोजकमा काठमाडौँका रबिन दाहाल हुनुहुन्छ । उहाँलाई प्रमुख आयुक्तको जिम्मेवारीसमेत दिएको छ । त्यस्तै, सहसंयोजकमा भोजपुरका राजीव खत्री हुनुहुन्छ । उहाँलाई तालिम आयुक्तको जिम्मेवारी दिएको छ । सङ्गठन आयुक्तको जिम्मेवारी भने सङ्खुवासभाकी बबिता कटुवालले पाउनुभएको छ ।

त्यसैगरी अन्य सदस्यमा रौतहटका विजय किशोर झा, भक्तपुरका हरिबहादुर श्रेष्ठ, ललितपुरका केशव महर्जन, सिराहका रामचरित्र ठाकुर, ओलखढुङ्गाका सन्तोषकुमार थापा र चितवनका शिवप्रसाद बराल हुनुहुन्छ । त्यस्तै, अन्य सदस्यमा काभ्रेपलाञ्चोककी रमिला नगरकोटी, चिवतनकी गायत्री शर्मा, ललितपुरका दीपक अर्याल, सल्यानका तिलक खत्री, रोल्पाका जुपिटर कुँवर र बाँकेका देउमल सुनार हुनुहुन्छ । यस तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्ने हुनेछ ।

स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै मर्यादित, अनुशासित तथा देशभक्त समाज निर्माणकालागि अग्रणी भूमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिए। सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तीमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने भन्दै विश्वास समेत व्यक्त गरे । समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।

नवनियुक्त स्काउटका संयोजक रबिन दाहालले आगामी दिनमा स्काउटलाई हाम्रो र राम्रो स्काउटको परिचय बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।