पुस ९, २०८१
कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई ६२ लाख राहत दिने

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई ६२ लाख राहत दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु छायाँनाथ रारा नगरपालिका  वडा नं। १ गमगढीका आगलागी पीडितहरुलाई पीडितहरुको संलग्न विवरण अनुसारको तोकिएका शर्त बमोजिम ६१ लाख ८५ हजार राहत दिने भएको छ ।

बुधवार बसेको मन्त्रीपरिषद बैठकले अग्नी पीडितहरुको लागि राहत दिने  निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रबक्ता एबं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए । प्रबक्ता विष्टका अनुसार राहत रकम जिल्ला प्रशासन कार्यालय मुगुलाई निकासा दिन स्वीकृत प्रदान गरिएको छ ।

मन्त्री परिषद बैठकले आगलागी पीडितहरुका लागि १० लाख बराबरको पूर्ण क्षतिका दुइ घरका लागि २ किस्तामा १ लाख, ११ लाख देखि ५० लाख सम्मको क्षति भएकाहरुको लागि दुइ किस्तामा एक लाख पचास हजार, ५१ लाख देखि १ करोड सम्म क्षति भएका ९ घरको लागि दुइ किस्तामा रु।दुइ लाख, १ करोड देखि ९ करोड पचास लाख सम्म क्षति भएका ६ घरको लागि दुइ किस्तामा रु.दुइ लाख पचास हजार, १ करोड ५१ लाख देखि तीन करोड सम्म क्षति भएका दुइ घरलाई दुइ किस्तामा तीन लाख पचास हजार र ३ करोड भन्दा माथि क्षति भएको १ घरको लागि दुइ किस्तामा ४ लाख राहत दिने निर्णय गरेको छ । 

त्यस्तै प्रदेश सरकारले आंशिक क्षति भएका घरका लागि एकमुष्ट राहत उपलब्ध गराउने गरी १ लाख बराबरको क्षति भएका २ घरको लागि रु २५ हजार, २७ लाख देखि ५० लाख सम्म क्षति भएको १ घरको लागि रु ५० हजार र ५० लाख देखि सो भन्दा बढी क्षति भएको १ घरका लागि ७५ हजार एकमुष्ट उपलब्ध गराउने भएको छ ।   आगलागीबाट क्षति भएका व्यवसायीहरुको लागि र घरबहालमा बस्नेलाई समेत उनिहरुको क्षतिको विवरण अनुसार तोकिएको शर्त बमोजिम उनिहरुलाई राहत दिन लागिएको प्रदेश सरकारका प्रबक्ता एवं आर्थिक मामिला एबं योजना मन्त्री विष्टले बताए ।