पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन
भृकुटीमण्डपमा आयोजित भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उद्घाटन गर्नुभएको छ ।
प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ । यस्तै दिवङ्गत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उद्घाटन सत्रमा सार्वजनिक गरिएको छ ।
‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो । हजाराँै नेता तथा कार्यकर्ताको उपस्थितिमा सभापति देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता छ ।
महाधिवेशनको सफलताको शुभकामना दिनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल उपस्थित हुनुहुन्छ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि महाधिवेशनस्थलमा उपस्थिति छ ।
भारतबाट भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि आउनुभएको छ ।
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।