वैशाख २३, २०८३
पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद

 दैलेख । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद तोकिएको छ।

 

दैलेख जिल्ला अदालतका न्यायाधिश दण्डपाणि लामिछानेको आइतबार बसेको ईजलासले तीनजनालाई जन्मकैद सुनाएको हो।


मुख्य आरोपीमध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का, ‘मुक्ति’ भन्ने अर्का बमबहादुर खड्का र केशव खड्कालाई जन्मकैदको सजाय सुनाईएको हो। अरुण भन्ने बमबहादुर र केशव खड्का दुल्लु नगरपालिका-६ छिउडी पुसाकोटका हुन् भने मुक्ति भन्ने बमबहादुर भगवतीमाई गाउँपालिका-६ का हुन्। उनीहरुलाई २० बर्ष जन्मकैद तोकिएको हो जिल्ला अदालत दैलेखका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले बताए।


यस्तै थापाको हत्याको घटनामा संलग्न बाँकेको कोहलपुर नगरपालिका-३ का भक्तिराम लामिछानेलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा तीन वर्ष कैदको फैसला गरिएको छ।


माओवादी सशस्त्र द्वन्द्वको समयमा पत्रकार थापाको हत्या भएको थियो। २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले मरणासन्न हुनेगरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए।