यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमति पत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उहाँको भनाइ छ ।
सवारी चालक अनुमति पत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उहाँले हालसम्म यहाँबाट २०० भन्दा बढी नविकरण फर्म भरेका बताउनुभयो । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ ।