काठमाडौंमा भोलिदेखि एस्ट्राजेनेकाको दोस्रो डोज लगाइने
काठमाडौंका आठ वटा स्थानीय तहमा यो खोप लगाउन लगिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप लगाएकालाई दोस्रो डोज लगाउन लागिएको जनाएको छ ।
सूचना अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज लगाइने छ ।
यसैगरी, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुनेछन् ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।