चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो, पाँच महिनामा चार जनाको मृत्यु
चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको हो ।
यस्तै सोही समयमा हात्तीको आक्रणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए । चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ ।
निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५÷७६ देखि आव २०७८÷७९ को कात्तिक मसान्तसम्म ६ करोड २५ लाख ४४ हजार राहत वितरण गरेको छ ।
निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पु¥याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ ।
चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई ४० लाख राहत रकम वितरण गरिएको छ । त्यस्तै वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई तीन लाख सात हजार र गम्भीर घाइते भएका पीडित परिवारलाई १३ लाख १६ हजार उपलब्ध गराएको तिवारीले जानकारी दिए ।
त्यस्तै पशुधन क्षति शीर्षकमा सात लाख ८५ हजार तथा घरगोठ शीर्षकमा ४२ हजार वितरण गरिएको छ । वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्याएका परिवारलाई १६ लाख २१ हजार प्रदान गरिएको छ ।
निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेका छन् । निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ ।
त्यस्तै सामान्य घाइतेको अवस्थामा २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ ।
जङ्गली जनावारले अन्नबालीमा क्षति पु¥याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।
वन्यजन्तुको आक्रमणबाट आव २०७३/७४ मा १०, आव २०७४/७५ मा पाँच, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा नौ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो ।
निकुञ्ज र स्थानीयवासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारण ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयवासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताए । पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ ।