माघ २१, २०८२
नेपालमा भेटिएका ओमिक्रोन संक्रमितहरूमा देखिए यस्ता  लक्षण

नेपालमा भेटिएका ओमिक्रोन संक्रमितहरूमा देखिए यस्ता लक्षण

मन्त्रालयले ओमिक्रोन संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी गराएको छैन।

नयाँ भेटिएका २४ जना ओमिक्रोन संक्रमितमा कस्ता खालका स्वास्थ्य समस्या देखिएका छन् भन्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन। साथै ती संक्रमितहरू कहाँबाट आएका भन्नेबारे पनि मन्त्रालयले खुलाएको छैन। 

तर मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन पुष्टि भएका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

उनले अहिले पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको भन्दै कसैमा पनि जटिलता नरहेको बताए। 

अहिलेसम्म कसैमा पनि जटिलता देखिएको छैन। उहाँहरू सबै आइसोलेसनमा हुनुहुन्छ,' अधिकारीले भने। 

उनका अनुसार अहिले भेटिएका ओमिक्रोन संक्रमितहरूमा सामान्य रूघाखोकी लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिएका छन्।

त्यस्तै, केही संक्रमितलाई श्वासप्रश्वासमा थोरै समस्या देखिए पनि जटिलता नदेखिएको अधिकारीले बताए।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको झन्डै ४० प्रतिशत मानिसले खोप लगाएका छन्। 

पछिल्लो समय भारतमा व्यापक रूपमा ओमिक्रोन संक्रमण फैलिरहेको छ। जसले गर्दा नेपालमा जोखिम ह्वात्तै बढेको छ।

भारतमा संक्रमण व्यापक हुन थालेपछि अबको दुई साताभित्र नेपालमा पनि त्यसको असर देखिने विज्ञहरूको विश्लेषण छ। 

स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन भेरियन्टले नेपालमा छिट्टै जोखिम बढाउने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

मन्त्रालयकी प्रवक्ता डाक्टर संगिता मिश्राले संक्रमण जोखिमलाई मध्यनगर गर्दै सबै अस्पतालहरूलाई खाली रहेका अक्सिजन सिलिण्डरहरू भरेर राख्न र बिग्रिएर रहेका अक्सिजन प्लान्टहरूलाई मर्मत गर्न भनिएको जानकारी दिएको छिन |