पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने
सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा पूर्वराजा शाहले माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका संवाद सचिव फणिराज पाठकले आज विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
'उहाँ ३०० औं पृथ्वीजयन्तीमा मंगलबार मध्यान्ह १२:३० बजे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम तय भएको छ|
पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सरकारलाई विभिन्न राजनीतिक पार्टीहरूले दबाब पनि दिँदै आएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका थिए।
सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले पनि पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने बताइरहेका छन्।
नेपालमा गणतन्त्र आउनुअगाडिसम्म पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने गर्दथ्यो। गणतन्त्र आएपछि भने उक्त बिदा काटिएको थियो।
गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाहरूले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् |