कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या बढ्दो क्रममा
सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको लर्को लागेको छ । यसरी फर्कनेहरुलाई नाकामै एन्टिजेन परीक्षण गर्न थालिएको जानकारी आएको छ |
भारतबाट फर्किनेहरुमध्ये २० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार पुस २३ गते शुक्रबार एक हजार ३८५ जनाको नमुना परीक्षण गर्दा १५८ मा कोरोना पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेमा आधाभन्दा बढी भारतबाट फर्किएकाहरु नै रहेका छन् ।
२४ गते एक हजार ३८० जनाको नमुना परीक्षण गर्दा १३३ जना र २५ गते एक हजार ६० जनामा परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । त्यसैगरी सोमबारको परीक्षण गर्दा १ हजार ६ सय १७ को नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।