15.jpg)
कोरोना सङ्क्रमण तीव्र रुपमा वृद्धि : कास्की जिल्ला रेड जोनमा
गण्डकी प्रदेशमा पछिल्लो हप्तामा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा वृद्धि भएको छ । दैनिकरुपमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन थालेका छन् ।प्रदेशका ११ जिल्लामध्ये कास्की जिल्ला रेडजोनमा परिणत भएको छ । यहाँ दैनिकरुपमा दर्जनौँको सङ्ख्यामा सङ्क्रमित थपिएका छन् । त्यसै गरी प्रदेशमा नवलपुर सङ्क्रमित वृद्धि हुने दोस्रो नम्बरमा छ भने यहाँ पनि सङ्क्रमित प्रत्येक दिन ठुलो सङ्ख्यामा थपिएका छन् ।
पछिल्लो एक सातामा गण्डकीका अन्य अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या तेब्बर बढेर गएको जानकारी आएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार एक हप्ताअघि गण्डकी प्रदेशभर १ सय ७२ जना मात्रै सक्रिय सङ्क्रमित थिए । तर, शनिबार सम्म उक्त सङ्ख्या चौवर बढेर ९ सय ५८ पुगेको छ ।
प्रदेश सरकारबाट सञ्चालित गण्डकीको एक मात्र कोभिड उपचारको डेडिकेटेड सरुवा तथा सङ्क्रामक रोग अस्पतालमा २ हप्ता अघि सम्म एक-दुई जना मात्रै सङ्क्रमित उपचार भइरहेकोमा अहिले त्यो सङ्ख्या बढेर झण्डै एक दर्जन पुगेको अस्पतालका निर्देशक विकास गौचनले जानकारी दिनुभएको छ |
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार गण्डकी प्रदेशमा हालसम्म ९५४ सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये ९२४ जना होम आइसोलेसनमा रहेका छन् । प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ५६० जना सक्रिय सङ्क्रमित रहेका छन् । कास्कीमा हालसम्म ३७ हजार ४५६ सङ्क्रमित भएकामा ३६ हजार २६९ जना सङ्क्रमणमुक्त भएका छन् भने ६२७ जनाको मृत्यु भएको जानकारी आएको छ |