२४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिएका हुन् ।
भर्चुअल सहभागी हुन चाहनेका लागि गृह मन्त्रालयको वेबसाइटमा जुमआइडी र पासवर्ड राखिएको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचार–प्रसार उपसमितिको संयोजकसमेत रहनुभएका विभागका महानिर्देशक मैनालीले सुनाउनुभयो । जुमआइडीमा जति मानिस पनि सहभागी हुनसक्ने समितिले जनाएको छ ।
दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् । यस वर्ष कोरोना भाइरसको महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिने जनाइएको हो |