स्थानीय जोखिम मोल्दै सामान बोक्न बाध्य
पहिरोको माटो, ढुङ्गा सडकमा थुप्रिँदा जोखिम मोलेर स्थानीय बासिन्दा आवतजावत गर्दै आएका छन् । गतवर्ष मात्रै नगरपालिका कार्यालयले ठूलो बजेट खर्च गरी यहाँसम्म पुग्ने सडक निर्माण गरेको थियो । निर्माण गरिएको सडकको केही ठाउँमा भत्किएको छ भने केही ठाउँमा भासिएको छ । सडक मर्मत गरी सञ्चालन गर्न निकै समय र खर्च लाग्ने नगरपालिकाका कर्मचारीको भनाइ छ । मुसेट्टी क्षेत्रमा पहिरोले बाटो भत्किएको छ । मुसेट्टी खोला आसपासका क्षेत्रमा पहिरो गएको छ । केही स्थानमा बाटोमा रुख र बिजुलीका खम्बा ढलेका छन् । तार भूइँमा खसेका छन् । खल्लाका नारदसिंह मडैले वर्षापछि खल्ला, टुँडिखेल र मुसेट्टी बाटोघाटो, विद्युत्, टेलिफोन सबै बन्द भएको बताउनुभयो । “वर्षाको बाढीले केही बाँकी राखेन । अहिले त ब्रह्मदेवसम्म हिँडेर जान पनि समस्या छ”, उहाँले भन्नुभयो,“सबै कुरा अवरुद्ध छन । जनता मारमा छन ।” भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बाटो बन्द भएपछि पैदल हिँड्न र बोकेर समान ब्रह्मदेवसम्म पु¥याउन बाहेक अन्य विकल्प नभएको बताउनुभयो । “विकट बस्तीमा हिँडेर आउनु र पिठ्यूमा बोक्न बाहेक अरु कुनै विकल्प छैन”, उहाँले भन्नुभयो,“वर्षाले बस्तीमा बेहाल बनादियो ।”वर्षाले भत्किएको बाटो पुनःमर्मत गरी सञ्चालनका लागि कार्य थालिएको अध्यक्ष नाथले बताउनुभयो ।