श्रावण २३, २०८२
हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

हुम्लामा सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ ।  सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको  हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको जानकारी आएको हो |

उनका  ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो । यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।  शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति  नै मृत्यु भएको अस्पतालले जनाएको छ ।  

अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यो पहिलोपटक हो । यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ । जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका हो । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । यस्तै गत पुस ३० गते जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो । रासस