खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढ्यो
आइतबार खानेपानी मन्त्री उमाकान्त चाैधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया सुरु गरेको जानकारी दिए।
आयोग गठनपछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यवहारिक महसुलदर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।
आगामी दिनमा मन्त्रालयले खानेपानीका स्रोतहरूका संरक्षण र मूल फुटाउ अभियान संचालन गर्नका लागि एकीकृत जलश्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने मन्त्री चौधरीले बताए । उनले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणका लागि पानीको परीक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीका लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याFइने जानकारी दिए । उनले सरकारले घोषणा गर्दै आएको खुला दिशामुक्त क्षेत्रको दिगोपनका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम ल्याउने पनि बताएका छन ।
त्यसैगरी, एसियाली विकास बैंक (एडीवी) ले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने उनले जानकारी दिएका छन |
त्यसैगरी काठमाडौं उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि मन्त्रालयको पहलमा सिस्नेरी श्रोतको सम्भाव्यता अध्ययन भइरहेको र भक्तपुरको महादेव खोला जलासययुक्त खानेपानीको अध्ययनका लागि खरिद प्रक्रिया अघि बढाइएको मन्त्री चौधरीले जानकारी दिएका छन |