काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जनालाई पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको छ | आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन |
कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङको रेष्टुरेन्टमा ठूलो संख्यामा भेला भई अनलाइन बिङ्गो खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको प्रहरी उपरीक्षक मैनालीले बताएका छन|
प्रहरीले ६६ जना पुरूष र आठ जना महिलालाई पक्राउ गरेको छ भने छापा मारेको ठाउँबाट खेल्न प्रयोग हुने बिङ्गोको कुपन र नगद बरामद गरेको छ।
उनीहरूबाट प्रहरीले ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको छ। उनीहरूले एउटा बिङ्गो एप डाउनलोड गरेका थिए। त्यसरी डाउनलोड गरेपछि भेला भएका मानिसहरूले हार-जित हुनेगरी पैसा हाल्थे।
खेलाउने प्रमुख व्यक्तिको मोबाइल पनि स्पिकरमा जडान गरिएको थियो। भेला भएका मानिसहरूले कुपन किनेका थिए।
त्यसअनुसार नम्बर पर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको बौद्ध वृत्तले जनाएको थियो ।हार-जित हुने गरी खेलेको हुँदा उनीहरूमाथि महानगरीय प्रहरी वृत्त बौद्धले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत ‘जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने’ कसूर अन्तर्गत थप अनुसन्धान अघि बढाएको हो ।