आज साेनाम ल्हाेसार
सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो ।
याे पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।
ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँछन् ।
पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रूपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाउँथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरू खडा भएका हुन् । त्यसमा पनि नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुक हो ।
तामाङ समुदायबारे लेखिएका पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यसर्थ, साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।