पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली
बुधबार देखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ|चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो |
गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जानकारी आएको छ |
आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरुपमा सुधार हुने महाशाखाले जानकारी दिएको छ |