माघ २०, २०८२
आज वसन्त पञ्चमी,विद्याकी देवी सरस्वतीकाे पूजाआधना गरी मनाइदैं

आज वसन्त पञ्चमी,विद्याकी देवी सरस्वतीकाे पूजाआधना गरी मनाइदैं

आज  माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी । सरस्वती भगवतीको पूजा आराधना गर्ने दिन ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ ।

यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ। विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन्।

वसन्त श्रवण

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ ।

यस अवसरमा हुनुमान ढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ। वसन्त श्रवणको लागि बिहान १०:३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए। यो पाठ १५ श्लोकको रहेको छ। आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ। वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन रही आयको छ।