चैत्र ८, २०८२
  लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप

सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । झडपमा केही विद्यार्थी  घाइते भएका छन् भने झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियू  लुम्बिनी प्रदेशका अध्यक्ष  सरोज पोखरेलले रातोपाटीलाई बताए । झडपमा सख्त घाइते भएका रोशन घिमिरेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । 

विद्यार्थीहरुले विरोधस्वरुप मुख्यमन्त्री कार्यालय अघि कालो बेलुन उडाउने कार्यक्रम तय गरेका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको पोखरेलले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले भने प्रदर्शनमा झडप नभई सामान्य धकेलाधकेल भएको उनको भनाइ छ ।