चैत्र ८, २०८२

हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

हावाहुरी चल्दा आज बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । केही दिनअघि परेको बाक्लो हिउँ पग्लिएर विमानस्थलमा जम्मा हुने गरेको छ । घाम लागेपछि दिनहुँ बिहान १०/११ बजेपछि मात्र उडान हुँदै आएकामा आज हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि उडान भरेका सीता, समिट र तारा एयरका जहाज सिमकोटको आकासमा पुगेर पनि फिर्ता भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाज नेपालगञ्ज नै फिर्ता भएका छन् । 

नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेको जानकारी आएको छ |रासस