श्रावण २३, २०८२
११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु

११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु

 अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।
    भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले भने, ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ ।’
   आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दा मुनिकाका लागि १० शय्याको  भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी दिए । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ । तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटरसहितको १६ आइसियु सञ्चालनमा छ ।
    
मेसु डा.गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटरसहितको १० शय्याको आइसियु अरु बिरामीका लागि प्रयोग भइरहेको छ । आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटरसहितको ३६ शय्याको आइसियु सञ्चालन हुनेछ । डा.गौतमले भने, ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्षम भएको छ ।भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन पाइप जडान गरी वितरण सुरु गरेसँगै सिलिन्डर घिसार्दै बेडमा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको हो । कोरोना सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम  बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवासमेत सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा  नयाँ निर्माण गर्न सकिएको छैन । साझालाई भवन छाड्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जानकारी दिएको छ | रासस