चैत्र ८, २०८२
सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल

सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्छन् । गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा  हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् ।

माछापुच्छ्रे का नौ वडामध्ये वडा नं २ लाई मात्र सेती नदीले छुट्याएको छ । सेतीको रातोपानीमा झोलुङ्गे पुलबाट यात्रु वारपार गरे पनि पक्की पुल नहुँदा बर्खामा गाडी वारपार गर्न सक्दैनन् । बर्खायाम सुरु भएसँगै गाउँपालिकाको केन्द्र पुग्न गौतमजस्तै स्थानीयवासीलाई पोखरा भएर जानुपर्ने बाध्यता हुन्छ ।

गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ । पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन् ।

गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि रु ७५ लाख विनियोजन गरिएको थियो । तर पटकपटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन । अहिले पुलको काम धमाधम सुरु भएको छ । सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पक्की मोटरेबल पुलको माग धेरै पहिलादेखि नै गरिएको जानकारी दिए । गाउँपालिका पुग्नका लागि समेत दुःख हैरानी भोग्नुपरेपछि सङ्घ र प्रदेश सरकारसँग पुलको योजना माग गरिएको उनले बताए ।

विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएको उनले बताए । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि बजेट विनियोजन भए पनि पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भएको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य एवं हालका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए ।

सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत पुल बनेपछि लाभान्वित हुने र यस पुलको महत्व धेरै रहेको उनको भनाइ छ । अर्थमन्त्री बरालले भने, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प-यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वाभाविक हो । धेरै मेहेनतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ ।”

अर्थमन्त्री बरालले माछापुच्छ्रे का धिप्राङ र मर्दीखोलामाथि पनि पक्की पुल निर्माणको योजना प्रदेश सरकारको रहेकाले पुल बनेपछि गाउँपालिकाका नौवटै वडा हिउँद÷बर्खामा पनि सडक सञ्जालबाट जोडिने जानकारी दिएका छन । रासस