जनकपुर–जयनगर रेल सेवा सञ्चालन
रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो ।
आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका हुन् ।
रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले जानकारी दिएका छन |