विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्यमा बृद्धि
रूसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।
रूसले युक्रेनी पृथकतावादीको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ ।
रूसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जसका कारण विश्वभर तेलको आपूर्ति शृंखला प्रभावित हुने डर छ ।
साउदी अरेबियापछि रूस विश्वको दोस्रो ठूलो तेल निर्यातक हो । रूस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक पनि रहेको छ । रासस