नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा
रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् । भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन ।
‘कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं”, उनले भने, ‘‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् ।” तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको कथन छ । ‘‘ उद्घाटनको ढिलाईका कारण मात्र रेल चलाउन समस्या भएको छ”, महाप्रबन्धक झाले भने, ‘‘नभए रेल चलाउन कुनै समस्या अब छैन्, हामीले सबै तयारी गरिसकेका छौं ।” उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौं, अब ढिलाइ हुँदैन् उनको भनाइ रहेको थियो |
भारत सरकारको आठ अर्ब ७७ करोड (नेपाली रुपैयाँ) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेल मार्गमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेसनबाट ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेल तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । नेपाल रेल्वे कम्पनीमा नयाँ महाप्रबन्धक नीरन्जन झा आएपछि स्थानीयवासीलाई रेल चल्ने विश्वास जागेको हो ।
रेलमा एक हजार २०० देखि एक हजार ३०० यात्रुसम्म बसेर÷उभिएर यात्रा गर्न सक्छन् । यात्रुबाहक रेल भएकाले यसमा यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो । झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गर्न लागेको बताइएको हो | रासस