पुस ८, २०८१
बैंकिङ कसुरमा ६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुरमा ६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

अदालतले बैंकिङ कसुर गरेको ठहर गरी ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका छन। 

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन | रासस