माघ २०, २०८२
विद्युत् प्राधिकरणले साधारण शेयर बिक्री गर्ने

विद्युत् प्राधिकरणले साधारण शेयर बिक्री गर्ने

 नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ ।

अधिकांश सरकारी स्वामित्वका संस्थान वित्तीय रुपमा संकटग्रस्त भइरहेका बेला प्राधिकरणले भने निरन्तर सफलता हासिल गर्दै गएको छ । राजनीतिक नेतृत्वको सहयोग र संस्थाको नेतृत्वको इमान्दार प्रयासका कारण वित्तीय रुपमा संकटमा परेको संस्था पनि नाफामा लैजान सकिने उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ ।सोही क्रममा प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । 

क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता देखिएको जानकारी दिएका छन |

सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई शेयर जारी गर्ने विषयमा पनि छलफल भइरहेको बताए । “विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकांकमा उल्लेख्य सुधार आइसकेको छ, क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ, अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्काशन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने ।

ऐनमा प्राधिकरणको शेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्काशन गरेको सेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको शेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना अन्तर्गत शेयर निष्काशनका लागि सहमति दिइसकेको छ ।

इक्राको रेट्रिपछि अब प्राधिकरणको साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाउनसमेत मार्ग प्रशस्त भएको छ । रासस