
राष्ट्र बैंकले घटायो आन्तरिक रेमिट्यान्सको सिमा
नेपाल राष्ट्र बैंकले हुन्डीलाई निरुत्साहित गर्न र बैंकिङ्ग माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न भन्दै आन्तरिक रेमिट्यान्सको सिमा १ लाख रुपैयाँबाट घटाएर २५ हजार रुपैयाँमा झारेको छ।
केन्द्रीय बैंकले गत बुधबारदेखि उक्त सिमालाई घटाएको हो। यसअघि देशभित्रै आन्तरिक रेमिट्यान्स पठाउदा १ लाख रुपैयाँसम्म पठाउन पाइन्थ्यो भने रेमिट्यान्स कम्पनीहरुले १ लाख रुपैयाँसम्म नै नगद भुक्तानी दिने गरेका थिए।
तर अब भने आन्तरिक रेमिट्यान्समा २५ हजार रुपैयाँसम्म मात्रै नगद कारोबार गर्न पाइने भएको छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ्ग पहुँच बढ्दै गइरहेको अवस्थामा नगदमा हुने कारोबारलाई निरुत्साहित गर्न यस्तो सिमा घटाएको जनाएको छ। बैंकिङ्ग पहुँच बढ्दै गएको अवस्थामा बैंकिङ्ग माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न यस्तो सिमा घटाएको हो।
बैंक मार्फत गर्न नमिल्ने इलिगल कारोबार क्यासमा हुन्छ।
१ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन मिल्ने हुँदा नगदमा धेरै कारोबार हुने गरेको छ। कम्पनीहरुले आन्तरिक रेमिट्यान्स कारोबारको रिपोर्टिङ् समेत गर्नु पर्दैन। यस्तो कारोबारको अनुगमन नहुने हुँदा यसले गैरकानुनी कारोबारहरु बढेको आँकलन गरिएको थियो। यस्ता कारोबारहरुलाई नियन्त्रणको लागि समेत केन्द्रीय बैंकले उक्त सिमालाई घटाएको हो।