पल शाह प्रकरण : चरित्रहत्यामा संलग्नलाई पक्राउ गर्ने साइबर ब्यूरोको तयारी
पल शाह प्रकरणमा सामाजिक सञ्जालमार्फत नाबालिग गायिकाको चरित्र हत्या गर्ने क्रम बढेपछि प्रहरीको साइबर ब्यूरो एक्सनमा उत्रिएको छ ।
चरित्रहत्यामा संलग्न केहीलाई पक्राउ गर्ने तयारी ब्यूरोले गरेको छ ।
ब्यूरोका प्रमुख एसएसपी नबिन्द अर्यालले आइतबार/सोमबारसम्म यस विषयमा केही कुरा बाहिर आउने बताए । ‘हामीले फाइल उठाएका छौँ । सरकारी वकिल कार्यालयसँग पनि समन्वय भइरहेको छ,’ एसएसपी अर्यालले भने ।
ब्यूरोले आजै एक विज्ञप्ति जारी गर्दै टिकटक, युट्युबजस्ता सामाजिक सन्जालमार्फत पिडितको चरित्र हत्या भइरहेको भन्दै कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।
‘यसमा पिडितले नै उजुरी दिनुपर्छ भन्ने छैन। प्रहरी प्रतिवेदनबाट पनि मुद्धा अगाडि बढाउन सक्छौँ,’ अर्यालले भने ।
अर्यालले सामाजिक सञ्जालमा आएका ‘स्टाटस’ हरुको समेत निगरानी भइरहेको र आवश्यक परे कानुनी कारबाहीमा पनि ल्याइने बताए ।
आजै पल शाह प्रकरणमा आफ्नो चरित्रहत्या भएको भन्दै नायिका रेखा थापाले ब्यूरोमा उजुरी दिएकी छिन् । पीडित बालिकाको सन्दर्भमा थापाले दिएको अभिव्यक्तीलाई लिएर सामाजिक सञ्जालहरुमा उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।