पुस ९, २०८१
सुर्खेतमा प्रहरीको कुटपिटबाट युवाको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रहरी विरुद्ध प्रदर्शन

सुर्खेतमा प्रहरीको कुटपिटबाट युवाको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रहरी विरुद्ध प्रदर्शन

प्रहरीको कुटपिटबाट युवाको मृत्यु भएको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रहरी विरुद्ध आन्दोलन भइरहेको छ ।

शुक्रबार साँझ बाँकेको नेपालगन्जबाट भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरमा रहेको सुब्बाकुना प्रहरी चेकपोष्टमा प्रहरीले नियन्त्रणमा लिएका कालीकोट नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमालको मृत्युलाई लिएर उनका आफन्त र स्थानीले आन्दोलन गरेका हुन् । आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् ।

सुब्बाकुना प्रहरी चेकपोष्टमा मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले कुटपिट गरेको र कुटपिटका कारण हमालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।हमाललाई उपचारको लागि शनिवार बिहान सुर्खेत अस्पताल ल्याए पनि अस्पताल नपुर्‍याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पताल प्रशासनले जारी गरेको प्रेस विज्ञप्तिमा शनिबार बिहान १०ः१५ मा दुई जना व्यक्तिहरुले बेहोस् भएको भनेर ल्याएको र चेकजाँच गर्ने क्रममा कुनै पनि जिवित चिन्हहरु –नाडीको गती, श्वास प्रश्वास र मुटुको धड्कन नभएको र अस्पताल ल्याउन पूर्व नै मृत्यु भएको उल्लेख गरिएको छ ।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले बताए।

भने उता प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घटनाको विषयमा छानविन गर्नका लागि समिति बनाएर छानविन सुरु गरेको जानकारी दिएका छन ।