सरकारले सार्वजनिक गाडीको भाडा नबढाए व्यवसायी आफैँले बढाउने चेतावनी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायातको भाडा आफैँले बढाउने चेतावनी दिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक–पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैँले बढाउने चेतावनी दिएका हुन् ।
सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ ।
महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने बताए ।
उनले यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले बैठक बसेर भाडा बढाउने निर्णय गरिसकेको समेत जानकारी दिए ।