पुस ९, २०८१
पेट्रोलियम पदार्थको कर हटाउन र जोरबिजोर लागू गर्न आयल निगमको सरकारसंग माग

पेट्रोलियम पदार्थको कर हटाउन र जोरबिजोर लागू गर्न आयल निगमको सरकारसंग माग

आयल निगमले घाटा थेग्नै नसक्ने स्थितिमा पुगेको भन्दै सरकारलाई पेट्रोलियम पदार्थ आयात गर्दा तिर्नु पर्ने कर हटाउन माग गरेको छ । निगमले सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार करलगायतका कर केही समयका लागि हटाउनुपर्छ भन्दै पत्रमा उल्लेख गरेको छ ।

यसैगरी, एलपी ग्यासमा सरकारले लगाउँदै आएको प्रति सिलिण्डर दुई सय रुपैयाँ करसमेत हटाउन निगमको माग छ ।

पेट्रोलियम पदार्थको खपत घटाउन अत्यावश्यक र संवेदनशील क्षेत्र र निकायबाहेक नीजि र सरकारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्नु पर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयात निरूत्साहित गर्नु पर्ने, ठूला उद्योग, होटल जस्ता क्षेत्रमा हुने पेट्रोलियम पदार्थको प्रयोग समेत कटौती गर्नरगराउन सरकारसँग माग राखेको छ ।

निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो ।

निगमले सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोषलगायतका सरकारी वित्तिय संस्थाबाट रकम उपलब्ध गराउन समेत माग गरेको छ । निगमले यसको सम्पूर्ण व्यवस्था अर्थ मन्त्रालयले मिलाउनु पर्ने जनाएको छ ।