
रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख रुपैयाँ संकलन
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन भएको छ।
डेढ महिनाको अवधिमा लामिछानेको पक्षमा ३२ लाख छ हजार ६०८ जनाले हस्ताक्षर गरेको र ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग रकम पनि उठेको छ।
लामिछानेको पक्षमा रास्वपाले भोलि भैरहवा जिल्ला कारागार गेट अगाडिको मन्दिर प्रांगण र घण्टी घर, वनस्थली, काठमाडौँमा दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकेको छ।
आज पार्टी कार्यालय काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाउने निर्णय गरेको छ।
साथै विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ।
प्रवक्ता मनिस झाले जारी गरेको विज्ञप्तिमा पार्टीका विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउने उल्लेख गरिएको छ।
यसैगरी केन्द्रीय समिति सदस्य तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्लामा परिचालन गर्ने कार्यक्रम छ।